हाम्रो बारे

 

नेपालको संघीय संरचना अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिम भागको  मुसिकोट नगरपालिका वडा नं ७ साँखमा अवस्थित यस श्री जनजागृति माध्यिमक विद्यालय साँख छ दसकको इतिहास पार गर्दै आफ्नो शैक्षिक अस्तित्व कायम गर्न सफल भएको छ। राणाकालिन इतिहासमा शिक्षाको पहुचबाट बञ्चित  नेपालका धेरै जसो भुभाग मध्य तत्कालिन राप्ति अञ्चल रुकुम जिल्लाको साँख पनि एक हो।जँहा लेखपढ गरेका व्यक्तिहरुको निकै अभाव थियो फलस्वरुप देशको शिक्षा क्षेत्र पछि परेको कुरालाई नकार्न सकिदैन्।वि.सं. २००७ सालको प्रजातान्त्रिक संस्कारको उदय पस्चात आफ्नै घर गृहस्थि तथा कृषि पेसा प्रवाह नगरी शिक्षा हासिल गर्नका लागि घर छाडेर नेपाली भाषा र संस्कृत भाषाको समेत आधारभूत ज्ञान हासिल गर्न जाजारकोट जानुभएका महानुभावहरु रणध्वज पाण्डे, दीपध्वज पाण्डे, लोक बहादुर बुढा, हिम बहादुर विष्ट, थल बहादुर घर्ती वि.सं.२०१७ सालमा रुकुम फिर्ता हुनु भएको थियो।तत पस्चात उहाँहरुको पहल कदम र प्रेरणाबाट साँखमा एउटा पाठशालाको आवश्यकताको महसुस गरी तत्काल पठनपाठन गर्ने सोच बनाई योजनालाई मूर्तरुप दिनका लागि खुल्ला आकाशमा भए पनि ज्ञान आर्जन गर्न आतुर १०/१५ जना चेलाहरु जम्मा गरेर संस्कृत भाषाको ॐ अक्षरबाट अ-आ, क-ख बाह्रखरी र १ देखि १०० सम्मका अंकको ज्ञान दिनुका साथै सरस्वती वन्दना, दुर्गा कवच चन्डी पाठको ज्ञान समेत रणध्वज पाण्डेले चेलाहरुलाई दिनु भएको थियो  भन्ने कुरा तत्कालीन समयमा अध्ययन गर्ने चेलाहरुमध्येका जीवीत चेला प्रजित बुढा र ऐभान गिरिको भनाइबाट सस्पष्ट हुन्छ ।प्राकृतिक शिक्षा र साहित्यमा विशेष चासो दिने रणध्वज पाण्डे लगायत शिक्षाको उज्यालो किरण ल्याउन सहयोग गर्ने अन्य महानुभावाहरुको अतुलनिय योगदानले वि.सं.२०१८ साल बैशाख २० गतेका दिनदेखि साँख दहको सिलिङ बोटबाट शिक्षा प्रदान गर्ने संस्थाको रुपमा इतिहास कोर्न सुरु गरयो।“असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय।मृत्योर्माऽमृत गमय।″ अर्थात असत्यबाट सत्यतिर अन्धाकारबाट उज्यालो तिर र मृत्यबाट अमृतमय जीवनतिर मार्गनिर्देशन गर्ने तथा शिक्षाको थालनी गर्ने यस संस्थाका संस्थापक रणध्वज पाण्डे, लोक बहादुर बुढा, हिम बहादुर विष्ट, दीपध्वज पाण्डे, ओपेन्द्र शर्मा लगाएत त्यति बेलाका अन्य शिक्षा प्रेमीले शिक्षामा लगानी कर्ता ज्ञात-अज्ञात महान व्यक्तित्वहरुलाई  मृत्यु पर्यन्त पनि आफ्नो छविलाई समाजमा उच्च राख्न सफल हुनु भएको उहाँहरुको यो अतुलनिय र अनुकरणीय कार्यको सह्राना गर्दै विद्यालयको सर्वाङगिण विकासमा सहयोग गर्नु गराउनु हामी सवैको उत्तरदायित्व हुन्छ ।

प्राकृतिक सुन्दरताले भरिएको साँख बाक्लो जनघनत्व रहेको साँखमा मिस्रित सास्कृतिक पहिचान भएको दलित,जनजाति,क्षेत्री,वाउन,सबैको साझा पवित्र विद्याको मन्दिर वि.स.२०१८ बैशाख २० गतेका दिन साँख निवासी रणध्वज पाण्डे, लोक बहादुर वुढाको परिकल्पनामा साँख दह किनाराको दक्षिणी चौतारीमा प्रजित बुढा, ऐभान गिरि, धन बहादुर विष्ट, पुर्ण बहादुर पाण्डे लगाएतका १०/१५ जना विद्यार्थीहरुलाई अक्षरारम्भ गरी विधिवत यस विद्यालयको शिला स्थापना भएको हो भन्ने कुरा हाल कार्बुयरत शिक्षक तथा भुपु प्रधानाध्यापक मावि (कक्षा ९/१०) का संस्थापक श्री डम्बर बहादुर पाण्डे को भनाईबाट पुष्टि हुन्छ । 

विद्यालयमा रहेका केही दस्तावेजका आधारमा त्यसैको लगतै तत्कालिन साँख प्रमुख ब्यक्तित्व श्री दीपध्वज पाण्डे, लोक बहादुर बुढा, ओपेन्द्र शर्मा जस्ता शिक्षा प्रेमी व्यक्तिहरुको पहलमा सल्यान गौडाका वडा हाकिम फलिन्द्र प्रसाद उपाध्याबाट शिक्षा ऐन नियमावली केहि आर्थिक श्रोत जुटाएर व्यवस्थापन गर्ने गरी हिम बहादुर विष्टको पुर्खाद्धारा निर्मित धर्मशालामा विद्यार्थीहरुलाई पठनपाठन गराई कक्षा कोठाको समेत व्यवस्थापन गरिएको थियो । त्यसको एक बर्ष पछि साँख ठूलो पँधेरा भन्ने ठाउमा कच्ची छ कोठे भवन बनाई श्री नेपाल राष्ट्रिय प्राथमिक पाठशाला कक्षा १/५ को नामाकरण गरिएको थियो । विद्यालयको प्रगतिका लागि घर गृहस्थि सम्म पनि त्याग्न पछि नपर्ने  संस्थापक प्रधानाध्यापक रणध्वज पाण्डेले २०१८ सालको अन्ततिर आफ्नो घरमा उत्पादन गरेको एक बाकस (१८ केजी) बराबरको घिउ नेपालगंजको बजार लिएर विक्रि गरेको सम्पूर्ण रकमलाई विद्यालयकै सामाग्री खरिद गर्नका लागि लगानी गर्नु भयो ।त्यसै अन्तरगतको ऐतिहासिक घण्टी Ring Bell) अहिले पनि विद्यालयको ऐतिहासिक सम्पति चिनारीको रुपमा छ सुरक्षित छ।तत्पश्चात ११ बर्षको लामो समयको अन्तराल पछि साँखको सोही ठाउँमा विद्यालयका कक्षा कोठा थप गरी २०२९ सालमा विद्यालयको स्तर उन्नति गरी १-७ सम्मका कक्षा संचालन गरी विद्यालयको नाम परिवर्तन भई श्री विरेन्द्र ऐश्वर्य निम्न माध्यमिक विद्यालय तत्पश्चात श्री जनजागृति निम्न माध्यमिक विद्यालय नामाकरण गरिएको थियो । विभिन्न आरोह अवरोह पार गर्दै केहि वर्ष पछि कक्षा ८ पनि संचालनमा ल्याईयो र २०६३ सालमा थप २५०० वर्ग मिटर जग्गा रु.३५००००।–खरिद गरियो।अनि त्य ठाउँमा एउटा चारकोठे पक्की भवन र अरु ४ वटा कच्ची भवन जम्मा १२ वटा कोठा तयार गरी २०७४ मंसिर महिनामा पुरानो विद्यालय रहेको ठूला पँधेराबाट साविक साँख ७ जस्पाले भन्ने ठाउँमा स्थानान्तरण गरी सवै कक्षाहरु एकै ठाउँमा पठनपाठन हुने व्यवस्था मिलाइयो।हाल यस विद्यालयमा वालविकास कक्षा देखि कक्षा १० सम्म पठनपाठन भईरहेको छ।यस विद्यालयमा कक्षा १-८ आधारभूत तहमा ७ जना स्थायी दरवन्दी एक राहत दरवन्दी रहेको छ भने मावि तहमा एक संघीय अनुदान र दुई वटा राहत कोटा रहेको छ । आधारभूत तहमा र मावि तहमा १/१ जना नगर करार शिक्षक कोटा रहेको छ।कर्मचारीका रुपमा एक जना कार्यालय सहयोगी एक जना कार्यालय सहायक गरी जम्मा १७ जना शिक्षक कर्मचारी कार्यरत छन्।जनजागृति माध्यमिक विद्यालयको विश्वको वदलिदो परिवेश सुहाँउदो विद्यार्थीहरुलाई प्रविधिमैत्री व्यावहारीक व्यावसायिक र सिपमुलक संस्कारयुक्त शिक्षा प्रदान गरी आत्म निर्भर बनाउन विद्यालयलाई स्तरयुक्त वनाउने लक्ष्य रहेको छ।

विद्यालय सञ्चालनमा सबैको भूमिका मध्यनजर गरी विद्यालय शिक्षक तथा कर्मचारीहरुलाई उहाँहरुको योग्यता, क्षमता तथा आकांक्षाको कदर गरी विभिन्न विषयगत समितिहरु गठन गरी जिम्मेवारी समेत दिइएको छ। ती समितिहरुको नामावली तथा संलग्न शिक्षकहरुको विस्तृत विवरण अर्को शीर्षकमा तल उल्लेख गरिएको छ। बेला बेलामा विषयगत समितिको बैठक बस्ने पारित गरिएका निर्णयहरु लागु गर्ने गराउने र यसको प्रतिवेदन विद्यालय प्रशासन समक्ष प्रस्तुत गर्ने गरिएको छ। विद्यालयमा सम्पन्न महत्त्वपूर्ण कार्यहरुको समाचार सम्प्रेषण गर्न एफ.एम. रेडियोहरुलाई समाचार उपलब्ध गराउने गरिएको छ।विद्यालयलाई सकेसम्म बालमैत्रीपूर्ण तथा अन्य व्यवस्थापकीय पक्षहरुमा चुस्त दुरुस्त राख्ने भरमग्दुर प्रयास गरिएको छ।अभिभावक ज्यूहरु आफ्ना बालबालिकाहरुको पठन पाठनको अवस्था बोध गर्न विद्यालयमा उपस्थित भई आवश्यक सल्लाह सुझाव दिने कार्यमा कमी भएको महसुस भएको छ । जसको परिणाम स्वरुप बाल विकासका विविध पक्षहरुमा अभिभावकहरुलाई जानकारी गराउने काम तथा अभिभावकहरुबाट लिने सुझावको कमी भएको महसुस भएको छ ।

विद्यालयमा केही समस्याहरु हल भए पनि केही समस्याहरु ज्यूँ का त्यूँ नै छन्।विद्यालयमा पर्याप्त विज्ञान सामग्रीहरु छैनन्।प्रयोगशालालाई व्यवस्थित गर्न सकिएको छैन। विद्यालयको भौतिक पक्षहरुमा समस्या विद्यमान छ। विद्यालयको प्रशस्त जग्गा छैन।पर्याप्त खेलमैदानको अभावको कारण विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने पर्याप्त अवसर दिन सकिएको छैन ।ठूला ठूला आकारका भवनहरु निर्माण गर्ने स्थलको अभाव छ। विद्यालयमा उपलब्ध केही पुराना भवनहरु जीर्ण अवस्थामा छन्। पुराना भवनका कुनै कुनै कक्षाकोठाहरु साँघुरा र अँध्यारा भएर बालमैत्री पूर्ण छैनन्।विद्यालयको स्थायी आर्थिक स्रोत छैन।अभिभावक सहयोग शुल्क, प्रमाण पत्र शुल्क, गयल शुल्क बाहेक विद्यालयलाई अरु रकम प्राप्त हुने स्थिति छैन।खेलमैदान तथा खेलकूद सामग्री पर्याप्त मात्रामा छैनन्। विद्यालयमा पुस्तकालय छ तर आवश्यकीय पुस्तकहरुको अभाव रहेको छ ।

स्रोत संकलक तथा सम्पादक श्री दीप प्रसाद शर्मा प्रधानाध्यापक